Wednesday, October 28, 2020

उतारचढाव मनस्थितीबीच हामी स्वास्थ्यकर्मी

Must read

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

समयले निम्त्याएको यो भयंकर मोड, हिजो र आजबीचको फरक परिस्थिती । विश्वव्यापी चरम महामारी कोरोना भाइरस (कोभिड–१९) ले सबैलाई त्रसित पारेको यो दर्दनाक अवस्था । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, चीन, इटलीलगायतका देशहरुमा समेत कोरोनाको संक्रमणले आफ्ना निर्दोष जनताहरुलाई गुमाउन पर्दा छटपटिएर रोइरहेको विकराल अवस्था । हाम्रो देश नेपाल लकडाउनले निम्त्याएका दिनहरु र हामी स्वास्थ्यकर्मीको दिनचर्या । दिनभर स्वास्थ्य संस्थामा बिरामीको उपचार तथा स्याहारमा व्यस्त अनि कार्यालय बन्द पश्चात कोठा फर्किने काम । वास्तवममा यसरी नै बितिरहेछ, स्वास्थ्यकर्मीका दिनहरु । यस्तै कुरा सोच्दैं कोठामा फर्किन्छु, केहीबेर विश्राम लिन्छु, वरिपरि हेर्छु । कोठाको अवस्था साँच्चै नै दर्दनाक देख्छु, कतै आँशु झारेर रोएजस्तै, कतै आफ्नो र आफन्तको खोजीमा भौतारिएजस्तै । कतै आफूले आफैलाई जिस्क्याएजस्तै । र, केहीको खोजीमा हराएको यात्रीजस्तै । भित्तामा रहेको घडी आफ्नै गतिमा दौडिरहेको छ । भित्तामा टाँसिएका आफन्तजन, परिवार र आफ्नै फोटोले समेत जिस्क्याइरहेकोजस्तो, यता पुरानो रगीन टि.भी. कोरोना कोरोना भन्दै चिच्याइरहेको । सम्झिन्छु, कस्तो समय आएछ, कस्तो युगमा जन्म लिइएछ । आफन्तले आफन्तलाई भेट्न पनि टिकट लिनुपर्ने अवस्था, डराउनुपर्ने अवस्था । हे दैव । टाउकोमा हात राख्दै फेरि कोठाभित्र एकपटक फनक्क घुम्छु । सहर बजारको बसाइ साँघुरो कोठा कति नै समय लाग्छ र घुम्नलाई । एकैछिनमा सकिन्छ फेरि हरेश खाँदै खाटमा थ्याच्च बस्छु, नजिकैको सिरक तान्छु, सिरानी च्याप्छु र ढल्किएर अगाडि रहेको मोवाइल लिएर डाटा खोल्दै सरर फेसबुक हेर्छु । कठै यो फेसबुक बनाउनेलाई चाहिं छेउमै गएर च्याप्प अंगालो मारेर चुप्प खाउँजस्तो । अहिलेको सबैभन्दा प्यारो भन्नु र जीवन साथी नै यहि मोबाइल त रहेछ, सबैले छाडेर जाँदा पनि यसले कहिल्यै नछोड्ने । आफ्नै प्यारो भन्ने मान्छेलाई समेत भेट्न नपाइरहेको बेला यो त झनै प्यारो भइदिने रहेछ । लकडाउनको प्रभाव । मोबाइलमा पैसा पनि कति चाँडो चाँडो सकिएको होला ? बुझ्नै गाह्रो । १ घण्टा अगाडि नजिकैको साहुजीको ढोका ढक्ढक्याएर बल्लबल्ल ५ रुपैंया बढी तिरेर लगाएको १ सयको रिचार्ज एकछिन पनि नचलाउँदै सकिने । यसो दुई चार वटा स्ट्याटस, फोटोहरु के हेर्दै थिएँ, ब्यालेन्सको म्यासेज आउँछ । झनक्क झ्वाँक चलेर आउँछ फेरि त्यो प्यारो मोबाइल नै झटारो हानुजस्तो । हुन त हाम्रो देशको गति नै यस्तो छ । लथालिङ पनि कति लथालिङ हो । माथिदेखि तलसम्म लथालिङ, तलदेखि माथिसम्म लथालिङ । यस्तो समस्या बुझ्ने को छ र । कसलाई के मतलब जताततै भ्रष्टाचार, शोषण, मानिसले मानिसलाई गर्ने दुर्व्यवहारबाहेक के नै सुनिन्छ र ? एउटा रुँदा अर्को हाँस्ने देश, एउटा सडकमा नाङ्गै हुँदा अर्को महलमा रमाउने देश र एउटा पीडामा छट्पटिंदा अर्कोलाई मज्जा हुने देश । कठै मेरो देश । यति हुँदाहुँदै त्यसमाथि प्रकृतिले पनि ठग्नु । कहिले भूकम्प जानु, कहिले बाढीपहिरो आउनु त कहिले रोग महामारी फैलिनु । साँच्चै प्रकृतिको यस्तो विपत्ति सामु झनै कसको के लाग्छ र । एक अर्कामा दुःख, सुख साटासाट गरेर बाँच्नेबाहेक अरु केहि पनि छैन । दिमागले पनि के—के सोच्न सकेको ? कैले के..कैले के ! जम्मा ५ रुपैयाँ व्यालेन्स बाँकी फेरि एउटाको स्ट्याटस आउँछ, पढ्छु, कोरोनाले मायाप्रीति गाढा बनाएको, अर्कोले लेख्छ कोरोनाले भ्रष्टाचार बढाएको । यो फेसबुक पनि कति चलाउनु । चलाउँदा चलाउँदै नै खुस्किएलाजस्तो, दिमाग नै ह्याङ होलाजस्तो । जसले जे लेखे पनि हुने बिडम्बना । जे होस अहिलेको महामारीमा राजनितीमा होस् वा व्यक्तिगत होस् मज्जाले चलेको जुहारी चलेको छ फेसबुकवालमा । अहिले को भन्दा को कम छ र । सबै जान्ने नै जान्ने । म पनि जान्ने उ पनि जान्ने, गज्जव छ बा । कतै लाइक त कतै कमेण्ट हेर्नैप¥यो । नहेर्दा कमेण्ट नगर्दा पनि सम्बन्ध विच्छेद होला भन्ने डर । कतितिर सम्झनु, जता सम्झ्यो त्यतै डर । दिक्क लागेर आउने यो डर भन्ने शब्दले । वास्तवमा डरैडरमा बित्ने भो जिन्दगी । यसबेला झनै ठूलो डर कोरोनाको महामारी, फेसबुकमा कोरोना, समाचारमा कोरोना, खाना खाँदा कोरोना, बाथरुम जाँदा पनि कोरोना, वाटोमा कोरोना, चिया पसलमा समेत कोरोना । बा ! यो कस्तो खालको चिज आयो, अचम्म सबैको मुखमा सजिलै बसेको । अब त हुँदाहुँदा गीत समेत कोरोनाको बज्न थाल्यो । ‘भागेर जाउँ कुन ठाउँ जाउँ’ भन्ने गीत साँच्चै नै अहिलेको परिप्रेक्ष्यमा आएर सुहाउने भएछ । यता आमाबुबालाई छोराछोरीको पीर, उता छोराछोरीलाई आमाबुबाको पीर । विदेशमा भएकाहरुलाई झन पीरैपीर । कतिलाई ऋण तिर्ने पीर, कतिलाई पैसा कमाएर परिवार पाल्ने पीर । जताततै पीरैपीरमा जिन्दगी गुज्रिएको अवस्था । यति धेरै के सोंच्नु । मोबाइलको तालमा सोच्दासोच्दै ब्यालेन्स पनि सकियो । फेरि फोन गरुँ भने रिचार्ज किन्न कँहा जाउँ । रिचार्ज कार्ड किन्दैंमा गोजी नै खाली भइसक्यो । ढाड दुखेजस्तो भान हुन्छ, जुरुक्क उठ्छु, एउटा खाली सिसाको कपमा थर्मसको तातो पानी हाल्छु र लामो श्वास लिएर पिउन थाल्छु । फेरि मनै त हो सम्झिन थाल्छु । पछिपछि त तातो पानीसमेत पिउन पाइदैन होला यस्तै हो भने । ग्याँसमा तताउँ ग्याँसै सकिने डर, लाइनमा तताउँ बिजुली महसुल पनि बढ्ने डर ! हाम्रो देशको अर्थतन्त्र पनि त डामाडोल छ । कति सोच्नु पानी पनि पिइ सकियो । समय बिताउन पनि धेरै गाह्रो हुने रहेछ । साँच्चै कसैले तिमीलाई दिनको ज्याला दिन्छु, दिनभरी ढोका लाएर सुतेर बस्नु भन्यो भने म चाँहि नसक्ने रहेछु । हुन त मलाई मात्र कहाँ हो र ? मान्छे त चेतनशील प्राणी हो । शुन्य भएर त को नै बस्न सक्छ र यो संसारमा ! समय पनि कति चाँडो दौडिएको हो ! पत्तै भएन । अब त साँझ पनि पर्न लाग्यो । बाहिर जाउँ त कता जाने फेरि उही कोठाको विस्तरामा आँखा जान्छ । पारा त उही हो, सिरक तान्ने र सिरानीमा ढल्किने । यो पापी आँखालाई त्यति सजिलै निन्द्रा लाग्छ र ? हुन त यो आँखा भएर त हामीले संसार हेर्न सकेको । यदि यो आँखा १ सेकेण्ड मात्र चिम्लिएर हेर्ने हो भने संसार कति अन्धकार हुन्छ, कल्पना नै गर्न गाह्रो । मोबाइल चलाउँदा चलाउँदा दिक्क भएको यो मन कहाँ स्थिर बस्न सक्छ र । छेउमा भएको रिमोट लिन्छु र अगाडि भएको टि.भी. खोल्छु । यसो च्यानल सर्च गरेर हेर्छु.. ऊफ् ! फेरि त्यही कोरोना । समचारको हेडलाइन देखि गीतसम्म कोरोनाको कुरा दिक्क । धन्न बच्चाहरु डिप्रेसनको शिकार नभएको । यस्तै हो भने अबको १ वर्षभित्र धेरै बच्चाहरु डिप्रेसनको शिकार हुनेछन् । हे कोरोना ! तिमी किन र कसरी आयौ यो धर्तिमा ? चाइनामा जन्मियौ, इटली र अमेरिकामा हुर्कियौं । नेपालमा आएर विश्राम गर्न खोज्दैछौ । सबै नेपालीलाई घर—घरमा बसेर विश्राम दिने मौका दियौ । धन्य छ, कोरोना तिमीलाई ! आज आएर तिमीले धेरैलाई सोच्न बाध्य बनायौ । कतिको छुट्न लागेको मायालु जोडीलाई जोडिदियौ त कतिलाई दिउँसै बोल्दै कराउँदै हिंड्ने बनाइदियौ । लाग्छ, राम्रो गीतको तालमा मोडेलहरु नाच्दा पनि रोएर उफ्रिए झैं लाग्ने । हुन त यो सब कोरोनाको भयको परिणाम होला । आफैं प्रश्न गर्छु र फेरि उत्तर पनि आफै दिन खोज्छु । अब त साँझको ५ बज्यो, भोक पनि लागिसक्यो । खाना पकाउनुपर्ने । यो मन कतै स्थिर छैन । जुरुक्क उठ्छु, कोठा वरीपरीको परिदृश्यलाई हेर्छु । कोठाको दृश्य पनि त्यस्तै कता—कता कसको खोजीमा टोलाएको यात्रीजस्तै दिक्क लाग्ने । कहिलेकाहीं त आफ्नो जिन्दगी आफैलाई बोझ भएर आउने । जुठा भाँडाकुँडा वरिपरी देख्छु बाल्टिनमा पिउने पानी सकिएको अवस्था । बाहिर जान्छु बाल्टिनमा पानी भर्छु र भित्र ल्याएर गीत गुनगुनाउँदै भाँडाकुँडा माझ्न थाल्छु । कुकरमा चामल राखेर पखाल्न खोज्छु । उत्तरचढाव पनि कति आएको हो फेरि सम्झिनु थाल्छु उहि कुरा । भोलि बिहान के पकाउने होला ? अझै यो कोरोनाले कहिलेसम्म अत्याउने हो ? मनभित्र काउकुती लागेर आउँछ । विभिन्न कुराहरु खेलाउँछु । दिक्क लागेर आउँछ र सोंच्छु । यो जागिर पनि कस्तो समयमा खाइएछ । सबै जागिरेहरु कोठामा बसेर फुर्सद मनाएको बेला आफू भने बिहानै उठ, खाना पका, खा, अनि कार्यालय जा । कहिलेसम्म बित्ने हो यसरी दिनचर्या ? सम्झेर आउँदा पनि धिक्कार लाग्ने । लकडाउन–२ भनेको सुन्दा झनै अत्यास लागेर आउने । पेशाले स्वास्थ्यकर्मी । सानो छँदा त घरपरिवार, आफन्त, आमाबुबा, समाजले छोराछोरी पढेर डाक्टर बनेस्, बिरामीको सेवा गरेस् भनेको सुन्दा पनि यो छात्ती गर्वले फुलेर आउँथ्यो । तर, आज कताकता आफ्नो पेशाप्रति नै निराशा छाएर आउनु कतै यो मानसिक विचलन त होइन ? डरै लागेर आउने । हुन त निराशा पनि किन नआओस् ? हामी स्वास्थ्यकर्मीका लागि सरकारले के नै राम्रो व्यवस्था गर्न सकेको छ र । न त हाम्रो कामको उचित मुल्यांकन, न त हामीलाई उचित सम्मान । अरु निजामती कर्मचारी र हामीबीच हेर्ने सरकारको दृष्टिकोण किन फरक छ ? अचम्म । खै उचित सेवा सुविधा ? खै पुरस्कार ? खोई बढुवा ? खोई अन्य तालिम ? फेरि कामको जोखिम भने चाँहि अरुले भन्दा हामीले बढी मोल्नुपर्ने । यस्तो महामारीको बेलासमेत दिनरात नभनी हिंडिरहेका छन्, ती महान् स्वास्थ्यकर्मीहरु । अहिले आएर हरेक क्षेत्रबाट हामीलाई चपेटामा पारिएको छ । चाहे राजनीतिक होस् वा अन्य । हाम्रो जागिर त वास्तवमा नेपाली उखान ‘खाउँ भने दिनभरीको शिकार नखाउँ त कान्छा बाउको अनुहार’ भने झैं भा छ । यस्तै छ, हामी स्वास्थ्यकर्मीको पीडा व्यथा । पढ्न पनि गाह्रो यति धेरै लगानी, ऋणपात गरेर बाबुआमाले पढाएको छ, छोडेर कहाँ जाने ? यत्रो लगानी कसरी उठाउने ? आज यता जा स्वास्थ्यकर्मी, उता जा स्वास्थ्यकर्मी । नगए जागिर नै च्वाट अरे ! आहा ! कति सजिलै बोल्छ हाम्रो सरकार । के स्वास्थ्यकर्मीको परिवार, आफन्त, सन्तान हुँदैन् ? उसलाई ज्यानको माया हुँदैन् ? हो हामीले सरकारको नुन खाएका छौं, सरकारले लगाए अह्राएको काम पनि गर्नुपर्छ र गर्छौ पनि । हामीमा हाम्रो पेशा र हामीले गर्ने सेवा तथा हाम्रो कर्तव्यप्रति अपनत्वको भावना छ । हामी बिरामी तथा जनताको सेवा गर्न स्वतस्फूर्त तयार छौं र खुशी पनि । तर, खोई सरकारले जीवन सुरक्षाको ग्यारेन्टी दिन सकेको ? विश्वभर महामारीका रुपमा कोभिड–१९ फैलिएको अवस्थामा पनि हामी नडराएर काममा र कोरोनासँग लड्नको लागि लडाइको मैदानमा सेना झैं उत्रिएका छौं । तर, खोई हामीलाई सुरक्षाको लागि चाहिने पर्याप्त सामग्री, खोई पर्याप्त पीपीई ? कस्तो अचम्म । यसमा को जिम्मेवार हुने ? के यो हाम्रो दोष हो ? उफ । टाउकोमा हात राख्दै । कुकरमा १ कप चामल धोएर ग्याँस चुलोमा बसालुन्जेल फेरि कति धेरै कुरा सोचिएछ । आखिरी यो जे—जे सोचे पनि सोच्नु मात्रै हो । यतिकैमा डाइनिङ टेबलमाथि भएको मोबाइलमा फोन आउँछ । झसङ झस्किन्छु र हेलो भन्दै फोन उठाउँछु । उताबाट आवाज आउँछ, ‘सर नमस्कार ! म सुरेश वोलेको । हिजो मात्र जापान हुँदै काठमाडौंबाट आएको । खै आज बिहानैदेखि अलिअलि ज्वरो आएको छ, हल्का खोकी पनि लागेको छ । कतै कोरोना पो हो कि भनेर डरले स्वयंसेविका दिदीसँग नम्बर मागेर हजुरलाई फोन गरेको । भोलि स्वास्थ्य चौकी आउँदा हुन्छ हजुर ? एकोहोरो बोलिरहेको थियो । म भन्दै थिएँ, ‘हुन्छ हजुर । भोलि त मेरो हेल्थ डेस्कमा ड्युटी परेको छ । अरु स्वास्थ्यकर्मी र सिष्टरहरु छन् । तपाई आएर जँचाउनु भए हुन्छ । केहि पीर मान्नु पर्दैन । फेरि कुनै ज्वरो आउने बितिकै कोरोना नै मात्र कहाँ हुन्छ र ! यो त सबै जाँच गरेपछि मात्र थाहा हुन्छ । त्यति धेरै शंका गरेर डराउन र आत्तिनु पर्दैन । यति के भन्दै थिएँ, झल्यास्स बिउँझिएछु । उफ । कस्तो अचम्म । कति लामो सपना देखेछु । के हुन लागेको हो । यो डरत्रासको मनस्थिती ? मध्यरातको निन्द्रामा बिउँझिएको आफूलाई सम्हाल्न खोज्छु र लामो श्वास लिंदै गुनगुनाउँदै निदाउने प्रयास गर्छु ।
थप पढनुहोस: https://www.healthaawaj.com/others/14734/?fbclid=IwAR21HilWyAiUUJmRSlZGU0NEtZY_KMVZUsKasaHfgZdGvQOu9bgdw3zFmkk
Find us on Twitter: @healthaawaj | Facebook: HealthAawajOfficial

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

What is Ayurveda? S01 E01

Welcome to the AyurvedaKhabar Podcast! In the very first episode, we discuss...

The History & Origin Of Hatha Yoga

The word yoga came from the Sanskrit language which means, to unite or join, or just union. The Sanskrit word yoga has...

How To Lose Weight Quick & Easy With 10 Simple Tips?

These days we generally find that people around the world are going through a weight-loss program day by day. Well, it can...

Tri-dosha (Vata, Pitta, Kapha) The Science Of Ayurveda

According to Ashtang Ayurveda, the body is made up of five elements Ether, Air, Fire, Water, and...

Ayurveda Diet – How To Eat For Your Dosha?

What is a Ayurveda Diet? According to Ayurveda, everything in the universe is classified into five elements: space,earth, water, air, and fire.These...